मकवानपुर– मकवानपुरमा शनिबार (आज) सम्ममा कोरोना संक्रमितको संख्या २८० पुगेको छ । आज थप २० जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८० पुगेको छ । आज हेटौंडा उपमहानगरपालिका १२ जना र मनहरी गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले हिजो साँझ तयार पारेको प्रतिवेदन अनुसार मकवानपुरमा २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । हिजो साँझसम्म मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा छ । उक्त तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस नगरिएको जनाईएको छ । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने तथ्याङ्कमा समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २ सातादेखि मकवानपुरमा पनि कोरोनाको सङ्क्रमण दर बढ्दै गएको छ । जिल्लाका दश स्थानीय तह मध्ये सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । यस्तै अन्य स्थानीय तहहरुमा पनि क्रमश कोरोना संक्रमित देखापर्न थालेका छन् ।