काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन गर्दा कसैलाई पनि सहमतिका लागि दबाब नदिने बताउनुभएको छ । काठमाडौँमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सहमतिका साथ नेतृत्व चयन हुनु राम्रो भएपनि लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि नजरअन्दाज गर्न नमिल्ने प्रस्ट पार्नुभयो ।
अध्यक्ष ओलीले महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र अन्य पदहरूमा सहमति गरौँ भन्दा दबाब महसुस हुन सक्ने भन्दै सहमति वा प्रतिस्पर्धाबाट चुनिएका नेतृत्व आफूलाई प्रिय हुने बताउनुभयो । अध्यक्ष ओलीले आफूलाई अध्यक्षमा कसैले पनि चुनौती नदिएको तर स्नेहीपूर्ण सुझाव दिएको भन्दै लोकतन्त्रमा चुनौती स्वाभाविक प्रक्रिया भएको बताउनुभयो ।
चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा देशभरबाट चुनिएका २२ सय प्रतिनिधिले एमालेको उपयुक्त नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको विश्वास छ । पत्रकारहरूले न्यायालय विवाद सम्बन्धी गरेको प्रश्नमा न्यायालय संविधान र कानुन बमोजिम निष्पक्ष ढङ्गबाट चल्नुपर्ने र न्यायालयको मर्यादा माथि उठ्नुपर्ने अध्यक्ष ओलीको भनाई छ । चितवनमा मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा देशभरबाट करिब ५ लाख भन्दा बढीको उपस्थिति हुने नेकपा एमालेले जनाएको छ ।