मकवानपुर – मकवानपुर जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिका स्थित महेन्द्र माविले जितेको छ । हेटौंडा–४, हुप्रचौरमा शुक्रबार भएको फाइनल खेलमा थाहा नगरपालिका स्थित सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो ।
उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगर घोषित हुँदै जनही २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिमको सहभागिता रहेको थियो । संघका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।