काठमाडौँ – नेकपा (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको आजको बैठकमा सहमतिको मस्यौदामाथि थप छलफल भएको छ । आज सिंहदरबारमा बसेको कार्यदल बैठकले हिजोको बैठकमा तयार सहमतिको मस्यौदामाथि थप छलफल गरेको र राष्ट्रको आवश्यकता एवं पार्टी कार्यकर्ताको चाहनाअनुसारको नतिजा भोलिसम्म आउने कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो । नेता भीम रावलले आजको बैठकमा विभिन्न विषयमा छलफल भएको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो ।
कार्यदलको बैठक पुनः भोलि बस्ने छ । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट नेता सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधव कुमार नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।