मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको तीन वर्षमा मकवानपुर क्यामपस विश्व विद्यालयका रुपमा परिणत हुने बताउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा २९ औं बार्षिक उत्सव तथा स्ववियु खेलकुद महोत्सवको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले मकवानपुर क्यामपसलाई अबकोे तीन वर्ष भित्रमा विश्व विद्यालय निर्माण गर्ने वताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी भएको हिसाबले पनि विश्व विद्यालयको आवश्यक्ता रहेको र क्याम्पसलाई विश्व विद्यालय निर्माणको परिकल्पनाका साथ काम गरिएको वताउनुभयो । विद्यार्थी क्याम्पसका गौरव भएको भन्दै उहाँले यस क्याम्पसका विद्यार्थीहरुले गरेको प्रगती र उन्नतीको खुलेर प्रशंसा समेत गर्नुभयो ।

क्याम्पसका स्ववियु सभापति कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष एवम् संविधानसभा सदस्य अनन्त पौडेल, संविधानसभा सदस्य एवम् क्याम्पसका सदस्य प्रलाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, क्याम्पसका बद्री लंसाल, अशोक शाक्य, कृष्ण कटुवाल, क्याम्पस प्रमुख शंकर उपाध्याय लगायतकाको आतिथ्यता रहेको थियो । बार्षिक उत्सवका अवसरमा क्याम्पसका संचालक समितिका पूर्व अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेल, क्याम्पसका उत्कृष्ट विद्यार्थी, प्राध्यापक, पूर्व क्याम्पस प्रमुख लगायतका क्षेत्रमा उत्कृष्ट भएकालाई सम्मान समेत गरिएको थियो ।