मकवानपुर– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा एमालेका तर्फबाट उमेद्वार बन्नुभएका रामबहादुर थापा “बादल” लाई पराजित गर्दै देवकोटा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार देवकोटाले निकटतम प्रतिद्वन्दी नेकपा एमाले नेता तथा निवर्तमान गृहमन्त्री थापालाई एक हजार ७४ मतभारले पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचनमा देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्नुभयो, भने थापाले ४ हजार १४ मतभार प्राप्त गर्नुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार उपनिर्वाचनमा प्रदेश तर्फ कुल १०५ मतदान भएको मध्ये देवकोटाले ५८ अर्थात २७८४, थापाले ४५ अर्थात २१६० र तामाङ्ले २ अर्थात ९६ मत प्राप्त गर्नुभयो । यस्तै स्थानीयतह तर्फ देवकोटाले १२८ अर्थात २३०४, थापाले १०३ अर्थात १८५४ र तामाङ्ले २ अर्थात ३६ मत प्राप्त गर्नुभएको हो । कुल ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ जनाले मात्र निर्वाचनमा मतदान गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार ४८ मतभार रहेको प्रदेशसभातर्फ १०९ मध्ये एक सय ५ जना र १८ मतभार रहेका ११९ स्थानीय तहको २३८ मतदाता मध्ये २ सय ३३ जनाले मतदानमा भाग लिनुभएको थियो ।
उपनिर्वाचनमा एमालेका तर्फबाट सुर्य चिन्हमा रामबहादुर थापा (बादल), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कलम चिन्हमा स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको थियो । भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तर्फबाट मादल चिन्हमा कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको थियो ।











