मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणमा बागमती प्रदेशको वृद्धिदर ३.९६ प्रतिशत रहने अनुमान रहेको छ । उहाँका अनुसार आर्थिक बर्ष २०८०/०८१ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन २० खर्ब ७४ अर्ब २७ करोड रुपैयाँ रहने अनुमान रहेको छ । जुन नेपालको नेपालको कुल गार्हस्थ्य उत्पादन रु. ५७ खर्ब ४ अर्व ८४ करोड रुपैयाँको ३६.३६ प्रतिशत हो ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७७.४ प्रतिशत, कृषि क्षेत्रको योगदान १२.० प्रतिशत र उद्योग क्षेत्रको योगदान १०.६ प्रतिशत रहने अनुमान गरिएको मन्त्री थपलियाले बताउनुभयो । उहाँका अनुसार उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिमा प्रदेशको हिस्सा ३६.२ प्रतिशत र राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको हिस्सा १७.१ प्रतिशत रहेको छ । बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ४ सय ८४ अमेरिकी डलर रहने अनुमान छ ।

आर्थिक सर्वेक्षण अनुसार बागमती प्रदेश सरकारको सार्वजनिक खर्च बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७६÷०७७ मा अघिल्लो बर्षको तुलनामा खर्च ३५.३४ प्रतिशतले वृद्धि भएको थियो भने २०७७/०७८ मा २७.३६ प्रतिशत, २०७८÷०७९ मा ६.७३ प्रतिशत र २०७९/०८० मा २३.३४ प्रतिशतले वृद्धि भएको मन्त्री थपलियाले बताउनुभयो । आर्थिक बर्ष २०८०/०८१ को फागुन मसान्तसम्म बागमती प्रदेश सरकारको कुल खर्च १६ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ (२६.५१ प्रतिशत) रहेको छ । जसमा चालु खर्च ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ (३३.१० प्रतिशत) र पुँजीगत खर्च ७ अर्ब ८७ करोड ७५ लाख (२२.०२ प्रतिशत) रहेको छ ।

आर्थिक सर्वेक्षण अनुसार बागमती प्रदेशको निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या १२.५९ प्रतिशत र बहुआयामिक गरिबीमा रहेको जनसंख्या ७ प्रतिशत रहेको छ । प्रदेशमा गरिबीको विषमता २.६४ प्रतिशत, गरिबीको गहनता ०.८९ प्रतिशत र गरिबीको फैलावट १२.६८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । बागमती प्रदेशको बेरोजगारी दर ५.८४ प्रतिशत रहेको छ । प्रदेशमा कुल जनसंख्याको ९९.५ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ भने प्रदेशमा १ हजार १ सय ९६ मेगावाट विद्युत उत्पादन रहेको छ ।

प्रदेश सरकारले फागुन मसान्तसम्ममा नयाँ सड़क निर्माण २४.५ किलोमिटर, ग्रावेल सडक स्तरोन्नति ६८.७ किलोमिटर, कालोपत्रे सडक स्तरोन्नति ७८.६ किलोमिटर, सडक मर्मत (नियमित) ८३.९ किलोमिटर निर्माण तथा मर्मत गरेको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म प्रदेशभित्र बागमती प्रदेश सरकारले कुल १०७ वटा सडक पुल र १७ वटा झोलुंगे पुल/ट्रस पुल निर्माण सम्पन्न गरेको छ भने प्रदेशका ११९ वटै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल पुगेको छ । ८७ वटा स्थानीय तह पक्की सडकको पहुँच रहेका तथा ३२ वटा स्थानीय तहका सडक पक्की हुन बाँकी रहेका छन् । प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ भने प्रदेशभर स्वास्थ्य सेवाबाट ५० लाख ४ हजार ९ सय २४ जना लाभान्वित भएका छन् ।