मकवानपुर – यूएनडीपीले प्रकाशित गरेको मानव विकास प्रतिवेदन ‘अनिश्चित समय, अस्थिर जीवनः परिवर्तन विश्वमा हाम्रो भविष्य’ बारेको प्रतिवेदन आज साेमवार हेटौँडामा सरोकारवाला निकायका बीचमा सार्वजनिक गरिएको हो । सन् २०२२ मा तयार पारिएको प्रतिवेदन आज सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विकास भनेको डोजरले पहाड भत्काउने मात्र बुझ्न नहुने बताउनुभएको छ । सबै नागरिकलाई हातमुख जोर्न पुग्ने व्यवस्था गर्नु, रोजगारीको सृजना गर्नु पनि विकास हो भन्ने कुरा सबैले सिक्नुपर्ने उहाँले बताउनुभयो । आर्थिक रूपमा कमजोर राष्ट्र रहेकाले नै नेपालमा अरूका नीति, नियम लागू हुने र थिचोमिचो रह बताउँदै उहाँले नेपालका हरेक काममा विदेशीको मुख ताक्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै मुख्यमन्त्री पाण्डेले विदेशी कम्पनीसँग मिलेर मल कारखाना खोल्न प्रदेश सरकार लागिपरेको दाबी गर्नुभयाे । प्रदेश सरकारले किसानका लागि हरेक हिसाबले प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको उहाँकाे भनाइ छ । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्त, प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, महिलावादी दलित सङ्गठन मकवानपुरका मन्जु रोक्कालगायत आफ्ना धारणा राख्नुभएको थियो ।