मकवानपुर – बाग्मती प्रदेश सभाकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । आज शुक्रवार प्रदेश सभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको हो ।
सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा उहाँ सत्तारूढ दलहरूका तर्फबाट उम्मेदवार बन्नुभएकाे थियाे । पाठकलाई राप्रपासहित नेकपा एमाले, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सिर्जना सायजुले तीन मतमात्र प्राप्त गर्नुभयो । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए ।