काठमाडौँ – केही दिनदेखि सेयर बजारमा देखिएको सुधारले मङ्गलवार पनि निरन्तरता पाएको छ । मङ्गलवार सेयर बजारमा ४९.१८ अङ्कको सुधार भएको छ । योसँगै नेप्से परिसूचक २८३४.१३ अङ्कमा कायम भएको छ ।
तरलता अभाव हट्ने सङ्केत र बढ्दो कोभिड सङ्क्रमणसँगै सेयर बजार लगातार उकालो लाग्न थालेको हो । कोभिड सङ्क्रमणका बेला अरू उद्योग व्यवसाय प्रभावित हुँदा लगानीकर्ता सेयरमा आकर्षित हुने गर्छन् । यस दिन बजारको कारोबार रकम सोमवारको तुलनामा केही घटेको छ । मङ्गलवार झन्डै ६ अर्ब ७२ करोड रुपैयाँ बराबरका सेयरहरूको कारोबार भएको छ । सोमबार ७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । बढ्दो क्रममा रहेको बजारमा जलविद्युत कम्पनीहरूको शेयर बढेको छ । मङ्गलवार कारोबार भएको मध्ये १ सय ७० कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ ।