मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार प्रदेशको राजधानी मकवानपुर र सिन्धुली जोड्ने पुलको स्थलगत निरिक्षण गर्नु भएको छ । ठेक्का लागेको १० वर्ष नाघ्दा पनि बन्न नसकेको पूर्वी मकवानपुरको बागमतीबाट सिन्धुली जोड्ने बागमती पुल माघदेखि सञ्चालनमा आउने भएपछि मुख्यमन्त्री पाण्डेले पुल निर्माणबारे चासो लिँदै अनुगमन गर्नु भएको हो ।

निरीक्षणका क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको छ । निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताउनु भयो । उहाँले यातायात सञ्चालनमा समस्या नरहेको बताउँदै उहाँले पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने बताउनुभयो । उहाँले ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेको तर, अब काम करिब करिब सकिएको बताउनुभयो । पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले बताउनु भयो । पुल निर्माणका लागि चैत मसान्तसम्म सीमा थपिएको र काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्नका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताउनु भयो ।
पुलमा गाडी चल्न सक्ने भएपछि माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले तीनवर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

यसैबीच मुख्यमन्त्री पाण्डेले मकवानपुरको बागमती गाउँपालिकामा रहेको पार्टी कार्यालय निरीक्षण गर्नु भएको छ । निरिक्षणका क्रममा स्थानीयले बागमती गाउँपालिकामा २०३२ सालदेखि नापी भएर पनि जनताले पूर्जा पाउन नसकेको लगायतका गाउँको समस्या मुख्यमन्त्रीलाई अवगत गराएका थिए ।
सो क्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट हुन सक्ने सहयोग गरिने बताउनु भयो । मकवानपुरको पूवी क्षेत्र बकैयाँ र बागमती गाउँपालिकामा नापी भएर पनि लालपूर्जा नपाउँदा स्थानीय वासिन्दाहरु समस्यामा परेका छन् । स्थानीयहरुले आज मुख्यमन्त्री पाण्डेलाई पूर्जा नपाएको गुनासो गरेका हुन् । पुर्जा दिलाउनका लागि पहल गर्न उनिहरुले आग्रह गरेका छन् ।