file photo

मकवानपुर – बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ कर्मचारीको सेवा अवधि थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवा अवधि ६ महिना थप गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालका अनुसार अघिल्लो वर्ष कोभिड महामारी तीव्र बनेका बेला करारमा राखिएका ४७९ जना प्राविधिक कर्मचारीको म्याद थप गर्ने निर्णय गरिएको हो । उनीहरूको म्याद यही पुस मसान्तसम्म मात्र रहेको र ६ महिनाका लागि करार अवधि थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै बैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा प्रदेश स्तरीय कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै बैठकले सत्तारुढ गठबन्धनबीच समझदारी पत्रलाई मन्त्रिपरिषद्कै अंग बनाएर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । गठबन्धनबीचको समझदारीपत्रमा सातवटा प्राथमिकता तोकिएको पनि उहाँले बताउनुभयो ।
प्रदेशअन्तर्गत भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने तथा कार्यालय स्थापन गर्न आवश्यक जग्गा प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत रोलयल्टी लिँदैआएकोमा ५० प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे हुने व्यवस्था मन्त्रिपरिषद्ले गरेको जानकारी दिनुभयो । सरकारले कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।