file photo

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको तयारीका लागि सरकारले कार्तिक २५ गतेसम्म साँढे १५ अर्ब बजेट निकासा दिएको छ । कार्तिक २५ गते शुक्रवार सम्ममा निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयले साढे १५ अर्ब बजेट निकासा दिएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले बताउनुभयो ।
अर्थ मन्त्रालयले निकास दिएको बजेटमध्ये निर्वाचन आयोगलाई साँढे ८ अर्ब, गृह मन्त्रालय र मातहतका निकायहरूलाई ६ करोड ८५ लाख ८४ हजार, म्यादी प्रहरीको व्यवस्थाका लागि १ अर्ब ८६ करोड, नेपाल प्रहरीका लागि १ अर्ब ९८ करोड, नेपाली सेनालाई ८९ करोड, सशस्त्र प्रहरीका लागि ९१ करोड र राष्ट्रिय अनुसन्धान विभागको लागि २ करोड ६४ लाख रहेको छ ।
अर्थ मन्त्रालयले निर्वाचनका लागि दिने भनी स्रोत सुनिश्चित गरेको रकम मध्येबाट निकासा दिएको र मन्त्रालयमा हालसम्म माग भई आएको कुनै पनि रकम निकासा दिन बाँकी नरहेको प्रमुख बुढाले बताउनुभयो । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि स्रोत सुनिश्चित गरेको रकममध्ये माग भएर आएको खण्डमा तुरुन्तै रकम निकासा दिने गरी तयारी अवस्थामा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । निर्वाचनका लागि ३७ अर्ब बजेट माग भएकोमा अर्थ मन्त्रालयले २० अर्बको लागि सहमति प्रदान गरी बजेटमा उल्लेख गरेको थियो ।