मकवानपुर । मंशिर ४ गते हुने निर्वाचनमा नेपाल परिवारदलले मकवानपुर जिल्लामा नेकपा एमालेलाई सहयाेग गर्ने भएकाे छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएकाे छ ।
शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीले प्रतिनिधीसभा र प्रदेशसभा तर्फ एमालेका उम्मेदवारलाई मतदान गर्ने बताए । परिवार दलभित्र आवद्ध रहेका र बाहिर समेत रहेका आम नागरिकलाई एमाले नै राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले मतदान गर्न लोप्चनले आग्रह समेत गरेका छन् । परिवार दलले मकवानपुरमा एमालेका उम्मेदवारलाई सहयाेग गर्ने कदम सकारात्मक रहेको एमाले मकवानपुर प्रचार विभाग प्रमुख धुर्व प्रसाद चौलागाईले बताए । निर्वाचनमा एमाले तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा कमल थापा, क्षेत्र नम्बर–१ प्रदेशसभा क मा कमल विष्ट, प्रदेश सभा ख मा एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ मा महेश कुमार बर्तौला, क्षेत्र नम्बर–२ प्रदेश सभा क मा विष्णु प्रसाद ढकाल र प्रदेश सभा ख मा लाल बहादुर थापा उम्मेदवार रहेका छन् ।










