बद्री बहादुर पाठक

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा नमस्कार,

तपाईहरु २०७६ साल चैत्र ६ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (SEE) दिन तम्तयार भै आफ्नै घर र परीक्षा केन्द्र पायक पारी डेरा लिइ बस्नुभएको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिने जोखिम बढेको भनी मिति २०७६।१२।०५ मा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समितिले कक्षा १० को अन्तमा लिइने एसइई सहित सिटिभिटि र विश्वविद्यालय तहका सबै परीक्षाहरु अनिश्चित कालसम्म स्थगित गर्ने निर्णय गरेको थियो । यो निर्णय ५ गते बेलुकामात्र भएको हुदाँ तपाईहरुलाई धेरै नै तनाव गरायो भने तपाइका बुबा आमा सहित परिवारलाई पनि तनाव नै भएको अभिव्यक्तिबाट बुझिन्थ्यो । हामी शिक्षाक्षेत्रमा काम गर्ने शिक्षाकर्मीहरुलाई पनि यस कदमले खल्लै बनायो । त्यस्तै गरी परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष सहित कर्मचारी र सुरक्षा निकायका पदाधिकारीहरुलाई पनि अनायसै दुखको अनुभूति पक्कै भएको हुनुपर्छ । साविक कै हिसावमा परीक्षा हुन पाएको भए आज १७ गते तपाइहरुको परीक्षा सकिएर घर घर फर्किसक्नु हुने स्थिति थियो । परीक्षा स्थगित भएको केही दिनमा नै सरकारले कोरोना भाइरसको संक्रमण अझ बढ्ने आशंकामा देशभर अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्‌यो भने चैत्र ११ देखि नै लकडाउन घोषणा गरेको तपाइहरुलाई थाहा नै छ । हामी सबै घरमा नै बन्दाबन्दीको अवस्थामा रहेको आज सातौ दिन हुदैछ भने पुन: सरकारले हिजो बेलुका निर्णय गरी लकडाउनको अवधि थप गरी चैत्र २५ गते मध्यरातसम्म पुर्‌याएको जानकारी भएकै होला । झट्ट सुन्दा सरकारले अपत्यासित निर्णय गरी परीक्षा स्थगित नगरेको भए हुने थियो भन्ने तपाइ हामि सबै जना अहिले आएर सरकारले उपयुक्त समयमा उपयुक्त निर्णय भएको रहेछ भनी अनुमान लगाइरहेका छौ जस्तो लाग्छ । महामारीको संक्रमणको जोखिमबाट बचाउन र भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नु जरुरी हुदाँ उक्त कदम राम्रो नै भन्नुपर्दछ । त्यसैले परीक्षा स्थगित भएकोमा अनावश्यक दु:ख मान्नु र त्यस कुरामा चिन्ता गर्नुभन्दा आगामी दिनमा परीक्षाको तयारीका बारेमा सोच्न जरुरी छ जस्तो लाग्छ । त्यसैले तपाइहरुलाई लकडाउनको समयमा परीक्षा तयारी र स्वस्थ रहन सानो पत्र लेख्दैछु स्वीकार गरिदिनुहोला ।

भाइबहिनीहरुविगतमा कक्षा १० को परीक्षालाई फलामे ढोकाको नाम दिइन्थ्यो । कक्षा १० को अन्तमा लिइने परीक्षा अन्य कक्षाको भन्दा बढी नै तामझाम र तयारी गरिने गरिन्छ ।यसवर्ष करिव चार लाख त्रियासी हजार भाइ बहिनीहरुले माध्यमिक शिक्षा परीक्षामा समावेश हुदै हुनुहन्थ्यो । हामीले परीक्षालाई मूल्याङ्कनको एउटा पाटोको रुपमा सैद्धान्तिक रुपमा स्वीकार गरे पनि व्यवहारमा त्यसो गर्न सकेका छैनौ । वर्षभर विद्यालयमा कक्षा १० को विषयहरुको पढाइका साथै कोचिङ्ग कक्षा  र ट्युसन धेरै लिनुभयो होला । तयारीमा रहेका समयमा एक्कासी परीक्षा दिन नपाउदाँ जोश जाँगर हराएको अनुभूति गर्दै हुनुहुन्छ होला । त्यस्तै गरी कोरोना भाइरसको बारेमा अनावश्यक हल्ला, समाचार र घरपरिवारका सदस्यबीच हुने कुराले मनलाई बेचैन बनाएको होला । तपाइहरुलाई विनम्र अनुरोध गर्दछु कि यस्तो अवस्थामा नआत्तिकन घरमा नै रहनुहोला, अनावश्यक तनाव नलिनु होला र कार्ययोजना बनाइ पढाइमा लाग्नुहोला त्यही अपेक्षा गर्दै केही वुँदा उल्लेख गर्दछु । १.   अहिले आएको महामारीले हामी सबै समान छौ र जो जहाँ बसे पनि त्यत्तिकै जोखिममा छौ भन्ने देखाउछ । रोग बारे सम्बन्धित निकायबाट उल्लेख गरेको सचेतना बारे राम्रोसंग बुझौ अनि परिवारका सदस्यलाई बुझाऔ । २.   कोरोना भाइरसबाट सर्तक रहन सरसफाइमा विशेष ध्यान दिने, घर बाहिर ननिस्कने, अरुसंग सम्पर्क नगर्ने र यससम्बन्धी दिएका स्वास्थ्य निकायले दिएका निर्देशन पालना गर्ने । ३.   घरमा रहदाँ पठनपाठनको लागि कार्यतालिका बनाइ त्यसै तालिका बमोजिम अध्ययन गर्नुहोस    ४. आफ्नो पठनपाठन र विषयगत समस्याका बारेमा नजिकैको साथीसित र विषयगत शिक्षकसंग पनि फोन वा सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी परामर्श गर्नुहोला । ५.   हालको महामारीको अवस्थाबाट देशमा सहज हुनासाथ परीक्षाको तालिका आउने भएकोले पठनपाठनको लागि यो उपयुक्त अवसर भएकोले त्यसलाई विशेष ध्यान दिनुहोला । ६.   स्वास्थ्य दरिलो भएमात्र अन्य पक्ष हुन्छ भन्ने कुरालाई अहिलेको अवस्थाले राम्रैसंग चित्रण गरेको छ त्यसैले स्वस्थ्य रहन हरप्रयास गर्नुहोला । ७.   घर र छरछिमेकमा कोही विरामी भएको अवस्थामा तत्कालै नजिकको स्वास्थ्य सेवा प्रदायक, स्थानीय वडा कार्यालय र प्रहरी कार्यालयमा खवर गर्नुहोला । ८.   एक अर्काप्रति सहयोगको भावना कायम रहेपनि हालको महामारीबाट जोगिन उच्च ज्वरो, रुघाखोकी र सुख्खा खोकी लागेका मानिसहरुबाट टाढा रहन परिकारका सदस्यहरुलाई अनुरोध गर्नुहोला ।

भाईबहिनीहरु, अस्तव्यस्त जीवन सबै थोक होइन यो समयमा परिवारका अग्रज हजुर बा, हजुरआमा, बुबा, आमा, दाजु, दिदीका कुरा सुनौं । अग्रजहरुलाई सम्मान गरौ । परिवार कै सदस्यहरु यदि तपाइको पढाइलाई सहयोग पुर्‌याउन सक्ने हुनुहुन्छ भने उहाँहरुसित सहयोग लिनुहोला । सहज हुनासाथ परीक्षाको तालिका अवश्यै आउछ । तयारी नछोड्नुहोला, अहिलेको तयारीले तपाइलाई माथिल्लो कक्षामा सहज रुपमा पढ्न पाउने वातावरण बनाउन अवसर दिने हुन सक्छ । नभुल्नु होला । –ः लेखक हाल भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयाेजना कायार्न्वयन इकाइ (शिक्षा) मकवानपुर (DLPIU Ed) मा कार्यरत हुन्छ ।