मकवानपुर – नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालको पदस्थापन भएको छ । आइतबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले दाहाललाई पदस्थापन गराउनुभएको हो ।

पदस्थापन गर्नुहुँदै प्रमुख खुलालले युवाका क्षेत्रमा राम्रोसँग प्रभावकारी कार्य गर्न आग्रह गर्नुभयो । उहाँले युवालाई स्वरोजगार बनाउने र नेतृत्व विकासका क्षेत्रमा अगाडी बढाउन भुमिका निर्वाह गर्न सुझाव दिनुभयो । गत फागुन ४ गते अध्यक्षमा नियुक्त हुनु भएका दाहाल पदस्थापन गर्नुहुँदै कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

सो क्रममा अध्यक्ष दाहालले मकवानपुरमा युवाका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले युवाहरुको विकास र अधिकारका लागि के गर्न सकिन्छ भन्ने खाका तयार पारेको र सोहि अनुसार अगाडी बढ्ने समेत जानकारी दिनुभयो । उहाँले राष्ट्रिय युवा परिषद् ऐन २०७२ र नियमावली २०७३ को युथ भिजनका विभिन्न कार्यहरुलाई अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बागमती, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, खेलकुद महासंघका महासचिव धरम लामालगायतले अध्यक्ष दाहाललाई पदस्थापन गराउनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।