मकवानपुर । बागमती प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा अपराधका घटनामा वृद्धि भएको पाइएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर आर्थिक वर्ष २०७९÷०८० मा अपराध सम्बन्धी घटनामा ६.२२ प्रतिशत वृद्धि भएको जनाएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रदेश प्रहरी कार्यालय र यस मातहतका कार्यालयहरूमा आर्थिक वर्ष २०७८/०७९ मा कुल ४ हजार ४०५ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा ६.२२ प्रतिशत बढेर ४ हजार ६७९ वटा मुद्दा दर्ता भएको बताउनुभयो । आव ०७९÷८० मा सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी आत्महत्याका ९४० वटा दर्ता भएको र प्रतिशतको आधारमा सबैभन्दा बढी ठगी सम्बन्धी मुद्दामा ४३.४८ प्रतिशतले बुद्धि भएको रेग्मीले बताउनुभयो ।


प्रवक्ता रेग्मीका अनुसार बागमती प्रदेशमा आव २०७९/८० मा कर्तव्य ज्यान सम्बन्धी ४३ वटा, ज्यान मार्ने उद्योग सम्बन्धी ६८ वटा, सवारी ज्यान सम्बन्धी २३६ वटा, लागु औषध सम्बन्धी ३६३ वटा, जबरजस्ती करणी सम्बन्धी २६४ वटा, जबरजस्ती करणी उद्योग सम्बन्धी ६३ वटा, आत्महत्या सम्बन्धी ९४० वटा, ठगी सम्बन्धी ६६ वटा, चोरी सम्बन्धी २९० वटा, जुवा सम्बन्धी ३६ वटा, बहुविवाह सम्बन्धी ६८ वटा र अन्य शीर्षकमा २२४२ वटा मुद्दा दर्ता भएको छ ।
यस्तै, बागमती प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयहरूमा फैसला कार्यान्वयनतर्फ आव २०७९÷०८० मा विभिन्न मुद्दामा ११७२ जना पक्राउ परेको तथा कुल ४६६२ पेण्डिङ मुद्दा मुद्दा मध्ये २४४१ मुद्दा फर्छ्यौट गर्न सफल भई ७ करोड ९ लाख ८ हजार ५८८ रुपैयाँ जरिवाना रकम असुल भएको जानकारी दिनुभयो । यसै अवधिमा विभिन्न मितिमा फैसला भई कैद भुक्तान गर्न बाँकी ४३२ वर्ष १ महिना २८ दिन कैद अवधि भुक्तानी गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै यसै अवधिमा प्रदेशमा कुल १३६१ दुर्घटना भएको जसमा २९९ जनाको मृत्यु हुनुका साथै २८९१ जना घाइते भएको उहाँले बताउनुभयो । तस्करी नियन्त्रणतर्फ ८० जना पक्राउ परेको र रु १८ करोड १० लाख १५ हजार ७३१ रुपैयाँ जरिवाना असुल उपर गरिएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७९/८० मा कुल २ लाख ९१ हजार २९३ वटा ट्राफिक कारबाहीबाट २६ करोड ३६ लाख ८३ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
यसै अवधिमा प्रदेश प्रहरी र यस मातहतका कार्यालयहरूले गाँजा ८३८२ केजी, चरेस १७० केजी, अफिम १६केजी, खैरो हिरोइन ३५६ ग्राम र ३८, १९५ थान औषधिजन्य पदार्थ बरामद भई ५५६ जना मानिस पक्राउ परेको रेग्मीले बताउनुभयो । आव २०७९÷०८० मा ४७ नाल अवैध हातहतियार बरामद भएको र ३१ जना मानिस पक्राउ परेको उहाँले बताउनुभयो । यस्तै, नदीजन्य दोहन नियन्त्रणतर्फ आव २०७९।०८० मा ४०२ वटा सवारी पक्राउ गरिएको र ६४ लाख ६९ हजार ६७२ रुपैयाँ जरिवाना गरिएको बताउनुभयो । यस्तै यसै अवधिमा अवैध घरेलु मदिरा नियन्त्रण तर्फ ६ वटा भट्टी, ७४ हजार १३४ लिटर तयारी मदिरा र २९६८६ लिटर तथा ७५५० केजी कच्चा पदार्थ नष्ट गरिएको उहाँले बताउनुभयो ।
प्रवक्ता रेग्मीले आव २०७९÷०८० मा २३८ बिगाहा गाँजा तथा २३१ बिगाहा अफिम खेती नष्ट गरिएको जानकारी दिनुभयो । १ हजार ७४६ जना हराएका मध्ये १ हजार ५२० जनालाई फेला पारिएको बताउनुभयो । यस्तै प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत आव २०७९÷०८० मा ५ हजार ४२३ कार्यक्रममा ५ लाख ०७ हजार १२२ जनालाई सहभागी गराई सचेतना फैलाउन सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले आफ्नो कार्यालय र मातहतका कार्यालयहरूबाट प्रभावकारी रूपमा योजनाबद्ध रूपमा कार्यसम्पादन गर्ने योजनाका साथ अगाडी बढ्ने बताउनुभयो । आगामी प्राथमिकताहरूका बारेमा जानकारी गराउनुहुँदै उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्मार्ट कन्ट्रोल रुमको अवधारणालाई अन्य जिल्लामा सञ्चालन गर्ने, अपराधको गहन विश्लेषण गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बढ्दो अवैध गाँजा÷अफिम खेतीलाई विस्थापित गर्न कृषकलाई कृषि÷नगदे बाली तर्फ आकर्षित गर्ने खालको कार्यक्रम गर्ने, फरार अपराधी पक्राउमा तीव्रता दिने, सबै किसिमको तस्करी नियन्त्रण गर्ने, गम्भीर एवं जघन्य पुराना पेण्डिङ मुद्दा सफल अनुसन्धानमा जोड दिने, अवैध प्राकृतिक स्रोत साधनको दोहनलाई पूर्ण रूपमा निषेध गर्ने, लागु औषधको खेती, बिक्री वितरण, ओसारपसार र प्रयोग विरुद्ध विशेष अभियान सञ्चालन गर्ने, प्रहरी जनशक्ति सुदृढीकरण एवं शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, प्रहरी कर्मचारीको आचरण व्यवहारमा सुधार गर्ने, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन प्रहरी उत्प्रेरणाका गतिविधिहरू सञ्चालन गर्ने लगायतका योजना रहेको जानकारी दिनुभयो ।