हेटौंडा – वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । वीरगन्जको प्रसौनीमा नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सरावगीलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर फूलमाला, टिकासहित पार्टीमा स्वागत गर्नुभएको हो ।
नगर प्रमुख सरावगी २०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित हुनुभएको थियो । कार्यक्रममा नगर प्रमुख सरावगीले पार्टी अध्यक्ष ओली जस्तो सशक्त निर्णय गर्ने क्षमतावान् नेता अन्य कुनै राजनीतिक दलमा नभएको भन्दै आफू ओलीको व्यक्तित्वबाट प्रभावित भई नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो । सो अवसरमा सरावगीसहित महानगरपालिकाका अन्य ४ जना वडाध्यक्षसमेत एमालेमा प्रवेश गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले मुद्दा देखाएर मुद्रा आर्जन गर्ने पार्टी एमाले नभएको बताउनुभएको छ । उहाँले नेकपा एमाले राष्ट्र, राष्ट्रियताको जगेर्ना गर्दै देश बनाउने पार्टी भएको दाबी गर्नुभयो । उहाँले तराई मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्न आफू प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएर वंशजका सन्ततिलाई नागरिकता दिने पहल गरेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन घोषणा भएसँगै एमालेमा जनताको भरोसा बढेको प्रमाणित लगातार भइरहेको पार्टी प्रवेशले देखाएको दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटीका सदस्य प्रभु शाह, एमालेका पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा लगायतका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।