आइतबार पोखरामा दुर्घटनाग्रस्त यती एअरलाइन्सको जहाजमा सवार चालक दलसहित ७२ जनामध्ये सोमवार साँझसम्म ६९ जनाको शव प्राप्त हुँदा २३ जनाका आफन्तलाई पोखरामै बुझाउन लागिएको छ ।
सोमवार थप एक शव सेती नदिको खोँचमा फेला पारिए तापनि तीन जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।
बाँकी सनाखत भइसकेका १८ र सनाखत हुन बाँकी २८ जनाका शव नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उद्धारकर्ताहरूले ‘अब कसैलाई जीवितै फेला आशा मारिसकेको’ बताएका छन् ।
“काठमान्डौंबाट आएका फोरेन्सिक विज्ञ टोलीका सहायताले परामर्श हुँदा २३ जनाको शव पोखरामै बुझाउन सकिने भन्ने भएको छ,” कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले भन्नुभयो । “अन्यथा यस अघिसम्म हुलिया पहिचानको आधारमा पहिचान गरिएको थियो।”
सबै एटीआर विमानको जाँच

एटीआर

माघ २ गतेका लागि यती एअरलाइन्सले दुर्घटनाको ‘शोकमा’ भन्दै आफ्ना सम्पूर्ण उडानहरू रद्द गरेको छ । यती एअरलाइन्ससँग हाल सबै एटीआर कम्पनीका एकै प्रकारका ७२ सीट क्षमताका जहाज छन् ।
“उक्त कम्पनीसँग बाँकी रहेका ५ एटीआर र बुद्ध एअरका १४ गरी १९ वटाको जाँच गर्दा त्यसमा कुनै समस्या देखा परेन,” नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो । नेपालमा एटीआर–४२ र एटीआर–७२ विमानहरू सञ्चालनमा छन् ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले समेत ‘सबै हवाई जहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्न’ मन्त्रिपरिषद् बैठकले निर्देशन दिँदै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएको जनाउनु भएको थियो । बीबीसीबाट