मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । गत पुष २५ गते प्रदेश सभाका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएका जम्मकट्टेलले आज मध्यान्ह साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो ।
संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्मकट्टेलले आजै प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो । ११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्री ७० सांसद्ले समर्थन गरेका कारण उहाँले विश्वासको मत प्राप्त गर्ने निश्चित छ । समर्थन गरेका मध्ये एक जना प्रदेश सभा सदस्य सभामुख भइसक्नु भएकाले आज विश्वासको मतमा भने ६९ जना सांसदले समर्थन गर्ने उहाँले अपेक्षा गर्नु भएको छ । साथै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई विश्वासको मत दिनका लागि आग्रह समेत गर्नु भएको छ ।
गत पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएका जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । उर्हाँ प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच दल नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जनाको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।