मकवानपुर – मकवानपुरको बिकट राक्सिराङ्ग गाउँपालिकाले प्रतयेक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले ९ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो ।
स्थानीय स्तरमा हुने स–साना झगडा, विवादलगायत घटना पालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्नका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका बनस्थम् थिङले जानकारी दिनुभयो । गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरि मेलमिलापकर्ताहरुलाई आधारभूत मेलमिलाप तालिम समेत प्रदान गरेको उहाँले बताउनुभयो । मेलमिलाप केन्द्रका सहजकर्ताहरुलाई सेलर्ड मकवानपुरको सहकार्यमा ८ दिने तालिम प्रदान गरिएको हो ।
स्थानीय शासन ऐन, २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ । गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । मेलमिलापसम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको उहँँको भनाई छ । तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलालगायत न्यायिक समितिका सदस्यहरु, वडाअध्यक्षहरुलगायतको सहभागिता थियो ।