मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा मकवानपुरको चिनारीका रुपमा रहेको ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण भईरहेको छ । १० नम्बर वडा कार्यालयले वडाको बजेटबाट ७ लाख र साई केन्द्र हेटौंडाकाे १७ लाख गरि करिब २५ लाख रुपैयाँको लागतमा ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण गरिएकाे हो ।

२०७६ साल असोजदेखी निर्माण सुरु गरिएको ठेकी आगामी २ महिनामा निर्माण सकिने वडाअध्यक्ष किताप सिंह लामाले जानकारी दिनुभएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने बसपार्कमा पानी ट्याङ्कीमाथि फलामको ठेकी निर्माण गरी राखिएको छ । ठेकी राखिएको क्षेत्रको बगैँचा निर्माण तथा व्यवस्थापनको जिम्मा साई केन्द्र हेटौंडाले लिएको छ । साई केन्द्र हेटौंडाले ठेकी आकारको खानेपानी ट्याड्कीबाट यात्रुहरुलाई निशुल्क फिल्टर गरिएको सुद्ध पिउने पानी उपलब्ध गराउने बताईएको छ । करिब ३५ सय लिटर क्षमताको ठेकी आकारको खानेपानी ट्याङ्कीमा हेटौंडा खानेपानी बोर्डले नियमित निशुल्क खानेपानी उपलब्ध गराउने बताइएको छ ।
मकवानपुर जिल्ला काठबाट बनेको परम्परागत नेपाली भाँडो ठेकीको लागि प्रख्यात जिल्ला हो । तर, अहिले काठको ठेकीको लागि प्रख्यात मकवानपुरमा नै ठेकी पाउन छाडे पछि वडा कार्यालयले परम्परागत भाँडोको संरक्षणका लागि ठेकी निर्माण गरेको हो । सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइने ठेकीमा दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ ।