पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहे पनि तराई मधेशका जिल्लामा खासै पानी परेको छैन । साउन महिनाको दोस्रो हप्ता बितिसक्दा पनि तराई मधेशमा खासै धेरै पानी नपरेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।
गएको जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यस यता कोशी, बाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिहरेको छ । गएराति पनि बाग्मती, कोशी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको थियो । आज पनि यी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।
बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । यस्तै, राति कोशी, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ ।