हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको संक्रमण फैलने जोखिम बढ्दै गएकाले प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । आज प्रदेश सरकारका उच्च अधिकारी र सुरक्षा प्रमुखहरुसंगको छलफलमा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी हेटाैंडालगायत प्रदेशका १३ वटै जिल्लामा लकडाउन अझ व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनुभएकाे हाे ।
उहाँले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नदिने निर्णयको पूर्ण रुपमा कार्यान्वयन गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएकाे छ । मुख्यमन्त्री पाैडेलकाे निर्देशन पछि भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ । वाग्मती प्रदेशकाे मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु बजार आउजाउ गरेका कारण लकडाउन प्रभावकारी नहुने देखिएकाले कडा बनाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएकाे हाे । उहाँले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिनुभएकाे छ ।
मुख्यमन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको छ । प्रदेशका अन्य जिल्लामा समेत लकडाउन कडा बनाइने र सङ्क्रमण फैलन नदिने वातावरण निर्माण गरिने प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिनुभयाे । “हामी लकडाउन कार्यान्वयनमा प्रतिबद्ध छौं र वर्तमान संवेदनशीलतालाई ध्यान दिएर लकडाउनलाई थप साँघुरो बनाउँदै जान्छाैं”, । उहाँले भन्नेनुभयाे ।
यसैबीच नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर हेटौँडाले कोरोना भाइरसको अवस्था नेपालमा आइपर्न सक्ने जोखिम र सम्भावित जोखिमको सामना गर्न गर्नसकिने कामहरुका बारेमा मुख्यमन्त्री पौडेललाई आज ब्रिफिङ गरेको छ । पृतनापति ताराध्वज पाण्डे, महासेनानी प्रकाशराज थापा लगायतको सैनिक टोलीले भारतमा गएको एक हप्तामा कोरोना सङ्क्रमणको दर दोब्बर बढेको र कोरोनाका कारण मारिनेको सङ्ख्यासमेत बढिरहेको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावका बारेमा विश्लेषण प्रस्तुत गर्नुभएकाे थियाे ।