नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गर्नुभएको छ । नेकपा एमालेले शनिवार चौतारामा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले मुलुकको भविष्य निर्माण गर्न एमालेमा समाहित हुन एकीकृत समाजवादीलाई आग्रह गर्नुभएको हो ।
“विशाल चौतारी नेकपा एमालेमा समाहित हुन म आम वामपन्थी साथीहरूलाई अनुरोध गर्दछ”, महासचिव पोखरेलले भन्नुभयो । मुलुकको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नेकपा एमाले भएको उहाँको भनाई छ ।
त्यस्तै, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज गोकुल बास्कोटाले समाजवादी पार्टीका सम्पुर्ण नेता कार्यकर्तालाई एमालेमा समाहित गराउने अभियान सुरु भएको बताउनुभयो । उहाँले दक्षिणपन्थी पार्टीलाई सहयोग गर्ने कम्युनिष्ट पार्टीको भविष्य नरहेको बताउनुभयो ।
त्यस्तै नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका नेता सुभाष कर्माचार्य १८ महिनापछि पुनः एमालेमा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्दै नेता कर्माचार्यले आफूहरू गम्भीर आत्मसमिक्षा गर्न तयार भएको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य सुभाष कर्माचार्य, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दिपक नेपाल, उपसचिव रवि भण्डारीसहित ११० जना नेकपा एमालेमा समाहित भएका छन्।
प्रवेशीहरूलाई एमाले महासचिव शङ्कर पोखरेल, सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेश इन्चार्ज गुरु बराल, जिल्ला इन्चार्ज गोकुल बास्कोटा, नेता शेरबहादुर तामाङलगायतले पार्टीमा स्वागत गर्नुभयो ।