आईसीसी टी-२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्याण्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इंग्याण्ड समूह ‘१’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।
भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्गलादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै,इंग्ल्याण्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इंग्ल्याण्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो ।
१० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा भारत रइंग्ल्याण्डको खेल हेर्न पाउनेछन् । अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए। त्यो बेला भारतले सहज जित निकालेको थियो । भारत र इंग्ल्याण्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इंग्ल्याण्डले १० वटा खेल जितेका छन् । अहिलेसम्म भारत र इंग्ल्याण्ड ले एक एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन् । भारतले सन् २००७ को विश्वकप र इंग्ल्याण्डले सन् २०१० को विश्वकप जितेका थिए । यस्तै सन् २०१४ को फाइनलमा भारत श्रीलङ्कासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इंग्ल्याण्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । भारत र इंग्ल्याण्डबीचको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो ।