मकवानपुर – बागमती सरकारले आफु मातहतका थप चार जिल्लामा पीसीआर ल्याब स्थापना गर्न टेन्डर आह्वान गरेको छ । पीसीआर परिक्षणको दायरा बढाउने उद्देश्यले प्रदेश सरकारले पीसीआर मेसिन लगायत स्वास्थ्य सामग्रीहरुको लागि टेन्डर आह्वान गरेको हो ।
सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले बिहिबार सुचना प्रकाशित गर्दै एक महिनाको समयसिमा राखीे टेन्डरको आह्वान गरेको छ । चितवनको रत्ननगर अस्पताल, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र रामेछाप अस्पतालमा पीसीआर ल्याब सञ्चालनका लागि टेण्डर आवहान गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो । कोरोना परिक्षणको रिपोर्ट तत्काल निकाल्नका लागि पीसीआर ल्याब थप्न लागिएको उहाँले बताउनुभयो ।
प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गर्ने निर्णय अनुरुप काम अघि बढाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले २ चरणमा गरि सबै जिल्लामा पिसिआर ल्याब स्थापना गर्ने गरि काम गरिरहेको उहाँले बताउनुभयो । पहिलो चरणमा ४ वटा जिल्लामा पिसिआर ल्याबहरु स्थापना गर्ने मन्त्रालयले जनाएको छ । हाल बागमती प्रदेश सरकार मातहतका ६ वटा पिसिआर ल्याब सञ्चालनमा रहेका छन्, जसमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल र चरिकोट अस्पतालमा पिसिआर परिक्षण सञ्चालन हुँदै आएको छ । यसअघि कोभिड महामारीलाई न्युनीकरण गर्ने उद्दश्यले मन्त्रालयले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न एक हप्ता समयसिमा राखेर मंगलबार टेण्डर आह्वान गरेको थियो ।