हेटौंडा – बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गतेदेखि सञ्चालन गर्न दलहरु सहमत भएका छन् । बिहीबार प्रदेशको प्रदेश सुशासन केन्द्र जाउलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।
‘कोभिड– १९ को बीचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ । त्यसैले यसलाई कसरी सहज गर्ने र साथीहरुका बीचमा केही त्यस्ता छन् भने ती सबै कुरामा छलफल गरियो र सहज ढंगले १६ गतेदेखि हाउस चलाउने कुरामा हाम्रो आम सहमति भयो’ उहाँले भन्नुभयो । बागमती प्रदेश सरकारले प्रदेश स्तरीय सर्वदलीय बैठक बोलाएर सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सदन र सरकारको काममा सहयोग माग्न भनी बोलाएको बैठकमा उल्टै सरकारमाथि चर्को आलोचना भएको छ ।
पूर्वमन्त्रीसमेत रहेक माओवादी केन्द्रका सांसद युवराज दुलालले प्रदेश सरकारले कार्यविधि विना चालु आर्थिक वर्षमा मदन भण्डारी फाउण्डेसनलाई ५० लाख दिएको भन्दै फिर्ता गर्न माग गर्नुभयो । कोरोना कहरमा स्वास्थ्यस्तर सुधार ल्याउन ऋण माग्नुपर्ने स्थितिमा कार्यकर्ता पोस्न फाउण्डेसनमा ५० लाख दिएको भन्दै उहाँले आलोचना गर्नुभयो । तर सत्तारुढ सांसदले भने सरकारको उक्त निर्णयको वचाउ गरेका थिए । केहीबेरको चर्काचर्कीपछि सरकार फाउण्डेसनलाई दिएको रकम फिर्ता गर्न तयार भएको सांसद दुलालले बताउनुभयो ।
माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पूर्वाधारविना विद्युतीय सवारी खरिद गर्ने कुरामा सहमत नभएसम्म सदन चल्न नदिने बताए । जम्मकट्टेलको कुरामा अन्य विपक्षी दलले पनि समर्थन जनाउनुभएको थियो । कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले सदन चलाउने विषय सभामुखको भएकाले सरकार अनावश्यक कुरामा नलागी कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनुभयो । बानियाँले सरकार स्वास्थ्यको विषयमा गम्भीर नभएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । विपक्षी दलले प्रदेश सरकारले कोरोनाविरुद्धको खोप किन्न बजेट छुट्याउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार निर्माण भइसकेकाले विद्युतीय बसको खरिद प्रक्रिया नरोकिने बताउनुभयो । उहाँले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैयाँ दिने निर्णयमा पुनर्विचार गर्ने पनि बताउनुभएको एमाले स्रोतले बताएको छ । छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, प्रदेश सरकारका मन्त्रीहरु केशवराज पाण्डे, रामेश्वर फुयाँल, एमालेका मुख्य सचेतक दीपक निरौला, कांग्रेसकी प्रमुख सचेतक राधा घले, विवेकशील साझाका दलका नेताहरु रमेश पौडेल, नेमकिपाका दल नेता सुरेन्द्रराज गोसाईँ, राप्रपाकी रिता माझी छलफलमा सहभागी भएका थिए ।
अनलाइन खवरबाट साभार