काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । केन्द्रीय बैङ्कले ‘क’ वर्गका सबै बैङ्कलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैङ्क सुपरिवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलवार पत्राचार गरेको हो । विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैङ्कहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलब्ध गराउन निर्देशन दिइएको छ ।