मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले आफ्ना नागरिकको खोजी अभियान थालेको छ । नगरपालिकाले सामाजिक सञ्जाल फेसबूकमा अनलाइन सर्भे फाराम प्रकाशन गरी आफ्ना नागरिकको खोजी सुरू गरेको हो । 

कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकमा भएको लकडाउनका कारण नगर बाहिर अलपत्र परेका तथा गुजारा चलाउन नसक्नेको विवरण अनलाइनमार्फत संकलन थालेको मेयर लवशेर विष्टले जानकारी दिनूभयाे । अनलाइन फारममा नगर बाहिर बसेका नागरिकहरुले आफ्नो व्यक्तिगत विवरणसहित नगरपालिकासँग आफ्नो अपेक्षा पेश गर्न सकिने व्यवस्था गरिएको छ ।‘अपेक्षाको आधारमा अन्त रहेका नागरिकलाई राहत, सुरक्षा वा उद्धार के आवश्यक परेको हो साे काे व्यवस्था गर्छौ’ मेयर विष्टले भन्नुभयाे । ‘अप्ठेरोमा परेका छन्, खान पाएकै छैनन् भने सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर उनिहरूलाइ खानालगायतकाे व्यवस्थापन गर्ने याेजना रहेकाे बिष्टले जानकारी दिनुभयाे ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण सचिवालय थाहानगरले देशका बिभिन्न ठाउँमा अस्थायी रुपमा बसोबास गर्दै आएका थाहाबासीको विवरण संकलनसंगै उनीहरुको अवस्था बुझ्न समेत सहज हुने नगरपालिकाका उपमेयर खड्ग गोपालीले बताउनुभएकाे छ । प्राप्त विवरणको आधारमा पहिलो चरणमा विवरण संकलन गर्ने र दोस्रो चरणमा अवस्था विश्लेषण र तेस्रो चरणमा अपेक्षा पूरा गर्नेमा नगरपालिका केन्द्रित हुने नगर उपमेयर गाेपालीले बताउनुभयाे । ‘लकडाउन लम्बिरहेको अवस्थामा घर नै आउन चाहिरहेका छन् भने त्यस्तो अवस्थामा साह्रै अप्ठेरोमा परेकाहरुलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरी थाहानगर नै फर्काउने गरी काम गर्ने सम्मको योजना रहेको उहाँले जानकारी दिनुभयाे । ‘हाम्रा नागरिक भोकमरी र अलपत्र पर्न दिदैनौं बरु ल्याएर क्वारेन्टाइनमा राख्छौं नागरिकप्रति सँधै उत्तरदायी हुन्छौं ।’ –उपमेयर बिष्टले भन्नुभयाे ।

थाहानगर फर्काएपछि नगरपालिकाले सञ्चालन गरिरहेको क्यारेन्टाइनमा राख्नुपर्ने भए राख्ने, घरमा छुट्टै बस्न सक्ने व्यवस्था रहेको भए घरमै पठाउने गरी व्यवस्था मिलाइने मेयर बिष्टले बताउनुभएकाे छ । उहाँले अप्ठेरो परेको अवस्थामा निर्धक्कसँग फोन वा सामाजिक सञ्जाल र नगरपालिकाको वेभसाइट मार्फत सार्वजनिक गरिएको फारम भर्न समेत आग्रह गर्नुभएकाे छ ।

अनलाइन फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।