२४ बैशाख/हेटौंडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौ फर्किएको छ ।
बुधबार दिउँसो बागमती प्रदेशसभा सदस्य एवं पुर्व मन्त्री एकालाल श्रेष्ठले घटनास्थलमै पुगेर खानी तथा भूगर्भ विभागको टोलीको प्रारम्भिक अनुसन्धानको बारेमा जानकारी लिएका छन् । प्रारम्भिक अनुसन्धानबारे जानकारी लिदै पुर्वमन्त्री श्रेष्ठले यस क्षेत्रको जोखिमको अवस्था समेतलाई समेटेर विस्तृत भुगर्भिय जानकारी सहितको रिपोर्ट तयार पार्न विभागको टोलिलाई आग्रह गरेका छन् । पछिल्लो समय विकसित शहरको रुपमा अघि बढिरहेको यस क्षेत्रमा भुगर्भिय हिसाबले जोखिमको अवस्था कस्तो छ भनी विस्तृत अध्ययनको लागी समेत विभागको ध्यानाकर्षण गराए ।
भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । प्रारम्भिक अनुसन्धानबारे प्रदेश सभा सदस्य श्रेष्ठलाई जानकारी गराउदै विभागका भुगर्भविद कृष्ण पाण्डेले उक्त क्षेत्र वरपरका जमिन तरलिकृत रहेको बताए । जमिनको माथिल्लो तह केही मिटर चिम्ट्याईलो रहेको र तल्लो तहको माटोमा बालुवा र पानी मिश्रित रहेको पाईएको बताए । टोलिले ६ मिटर गहिराईसम्मको माटोको नमुना संकलन गरेको छ । संकलन गरिएको माटोको विभागको ल्याबमा परिक्षण पश्चात् यस क्षेत्रको भुगर्भिय रिपोर्ट तयार पारिने बताए । उनले भने-“हामिले २ वटा विधीबाट यस क्षेत्रको अध्ययन गरेका छौं । एउटा चुम्बकीय विधि र अर्को जमिनमुनि रड हालेर हेरिरहेका छौं । चुम्बकीय विधिबाट हेर्दा जमिनमुनि करिब ३ दशमलव ४ मिटर तल केही फलामजन्य धातु रहेको जानकारी प्राप्त भएको छ । तर उक्त वस्तु हराएको भनिएको गाडी नै हो वा अरु कुनै उपकरण हो भन्ने एकिन हुन सकेको छैन । “टोलिले अपनाएको अर्को विधीबाट पनि हराएको गाडी जमिनको कुन भाग र कति तल छ भन्ने यकिन समेत हुन सकेको छैन । पाण्डेले भने-“
यस क्षेत्रको जमिनको माटो तरलिकृत छ । सङ्गै ठूलो क्षेत्रमा फैलिएको माछा पोखरीहरु पनि छन् जसले गर्दा यस क्षेत्रमा ‘सिंक होल’ को जोखिम बढी देखिएको छ । हामीले विभिन्न स्थानको माटोको नमुना लिएका छौं । चाडैं ल्याबमा परिक्षण सक्काएर दोश्रो चरणको अध्ययनको लागि पुनः आउछौ ।
२ दिन घटनास्थलको अध्ययन र माटोको नमुना संकलन गरि विभागको टोलि आज काठमाडौं फर्केको छ । टोलीले संकलन गरेका तथ्य र नमुनाको प्रयोशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएको छ । ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी जमिनमुखी भासिएको थियोे । पाँच दिन बितिसक्दा पनि गाडी फेला नपरेको अवस्थामा अनुसन्धान थप चासोको विषय बनेको छ ।