मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चालु आवमा प्रदेशका पूर्वाधार सम्बन्धी योजनाको टेण्डर प्रकृया तीन महिना भित्र गरिसक्न निर्देशन दिनु भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा कार्यक्रमको बुधबार हेटौंडामा उद्धघाटन गर्नुहुँदै उहाँले यस्तो निर्देशन दिनुभयो ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशका सबै जिल्लाबाट पूर्वाधारका काममा तीन महिना भित्र टेण्डर गरिसक्नु पर्ने बताउनुभयो । अन्तिम समयमा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै अब टेण्डरको काम सुरु गर्न उहाँले निर्देशन दिनुभयो । प्रदेशको बजेट किताबमा रहेको कन–कुन योजना अहिलेनै गर्न सकिने र कुन् योजना गर्न नसकिने भनेर लेखेर पठाउन पनि उहाँले निर्देशन दिनुभयो । हचुवाको भरमा मात्र काम गर्ने भन्दा पनि पाँच वर्षे आवधिक योजना बनाएर काम गर्नुपर्ने उहाँको भनाई थियो ।
राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने भैसे–भीमफेदी सडक खण्डको काम ढिलो गतिमा भइरहेको भन्दै उहाँले छिटो सक्नेगरी काम गर्न आग्रह गर्नुभयो । पूर्वाधार विकासको काममा संझौता नगर्न आग्रह गर्दै उहाँले कामको गुणस्तरमा समेत सम्झौता नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले कुनैपनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएकाले काम थाल्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधार मन्त्रालयको १५ अर्ब बजेट त बहुवर्षिय योजनामा छुट्याएर बजेट तयार गर्नुपरेको भन्दै उहाँले अब बाँकी केही बजेट मात्र नयाँ योजनालाई प्राथमिकता दिएर काम गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य किरण प्रसाद गजुरेल, प्रदेशका प्रमुख सचिब घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिब शंकर प्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मी लगायतकाको आतिथ्यता रहेको थियो । समिक्षा कार्यक्रम आज सम्म चल्ने छ ।