निर्वाचन आयोगले बढीभन्दा बढी मत गणना टोली परिचालन गरी यथाशक्य छिटो गणना कार्य सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आग्रह गरेको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिहरूको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्ने गरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेकोमा विभिन्न कारणले आज जेठ ५ सम्ममा सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन नसकेको हुँदा पुनः यस्तो आग्रह गरिएको जानकारी दिनुभयो ।
गत वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुनेछ भन्नेमा आयोग विश्वस्त रहेको प्रवक्ता पौडेलले बताउनुभयो । यसैगरी वैशाख ३० गते मतदान स्थगित भएको अछामको साँफेबगरमा भोलि पुनः मतदान हुने कार्यक्रम रहेको छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ ।
नेपालको संविधानको धारा २१५ उपधारा (४) मा गाउँ सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँ सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्य हुने व्यवस्था र धारा २१६ को उपधारा (४) बमोजिम नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगर सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्य समेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था रहेको हुँदा सोही व्यवस्थाबमोजिम गर्नु आयोगले स्मरण गराएको छ ।
त्यसैगरी, निर्वाचित जनप्रतिनिधिहरूमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडा अध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको हुँदा सोही अनुसार गर्नु गराउनु हुन आयोगले सबैलाई आग्रह गरेको छ ।