मकवानपुर – गत बैषाख ३० गते सम्पन्न निर्वाचन अन्तरगत मकवानपुर जिल्लाका विभिन्न आठ स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । जिल्लाको दशवटा स्थानीय तहमध्ये मतगणना सम्पन्न भएका आठवटा स्थानीय तहका प्रमुखहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको हो ।
उहाँहरुलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत (जिल्ला न्याधिश) डिल्लीरत्न श्रेष्ठले दुई चरणमा सपथ ग्रहण गराउनु भएको थियो । पहिलो चरणमा उपस्थित पाँचवटा स्थानीय तह र दोस्रो चरणमा तीन स्थानीय तहका प्मुखहरुले सपथ ग्रहण गर्नु भएको थियो । पहिलो चरणमा इन्द्रसरोबर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी, भीमफेदी हिदम लामा, राक्सिराङ राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका प्रमुख धर्म लामिछानेले सपथ ग्रहण गर्नु भएको थियो । यस्तै दोस्रो चरणमा थाहा नगरपालिका मेयरमा निर्वाचित प्रमुख बिष्णुबहादुर बिष्ट, मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित रञ्जन कालाखेती र कैलाश गाउँपालिका अध्यक्षमा निर्वाचित लोक बहादुर मोक्तानले सपथ ग्रहण गर्नुभयो । हाल हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ।
जिल्ला समन्वय समिति मकवानपुरका प्मुख रघुनाथ खुलालको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका जिल्ला स्थित प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।