मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समृद्धिका लागि नागरिकमा सचेतना र सृजनशीलताको विकास हुन जरुरी रहेको बताउनुभएको छ । ग्रामिण भेगमा महिला तथा आर्थिक सशक्तिकरण परियोजना सम्बन्धी बिहीबार हेटौंडामा आयोजित समिक्षात्मक बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले समुन्नत समाज निर्माणका लागि नागरिकमा चेतना र सृजनशीलताको विकास हुनु पर्ने बताउनुभयो ।

उहाँले कंक्रीटको संरचना ठड्याएर मात्र नहुने भन्दै सकारात्मक सोच र चेतना अभिबृद्धि हुन जरुरी रहेको बताउनुभयो । उहाँले संस्थाले नागरिकलाई स्वाबलम्बी बनाउन गरेका कामहरु प्रशंसनिय रहेको समेत बताउनुभयो । संस्थाले महिला तथा बालबालिकाको आत्मनिर्भरता, रैथाने बाली संरक्षण आर्गानीक एवम् सामुहिक तथा व्यवसायिक खेती प्रणलीका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो । उहाँले मकवानपुर जिल्ला कृषि र पर्यटनबाट समृद्ध हुन सक्ने बताउनुभयो ।

सृजनशिल नेपाल मकवानपुरले कारितास नेपालको सहयोगमा संचालन गरेको परियोजना सम्बन्धी सरोकारवालाहरुसंगको जिल्ला स्तरिय समिक्षात्मक बैठक आयोजना गरेको थियो । संस्थाका अध्यक्ष शान्ता बरालको अध्यक्षतामामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा, आर्थिक बिकास महासाखाका प्रमुख गंगा चौलागाईलगायत बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा सृजनशिल नेपालका कार्यक्रम संयोजक सम्झाना गोलेले परियोजनाले बितेको तीन वर्षमा गरेका कार्यहरुको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
