मकवानपुर – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि र विकासको आधार कृषि भएको उल्लेख गर्नुभएको छ । नेपाल व्यवसायिक बाख्रा पालक महासंघ मकवानपुरको तेस्रो जिल्ला अधिवेशनको बिहीबार हेटौंडामा उद्घाटन गर्नुहुँदै उहाँले समृद्धि र विकासको आधार कृषि भएको तर, यसलाई कसैले अङ्गिकार गर्न नसकिरहेको बताउनुभयो ।
पौडेलले नाराले मात्र नहुने भन्दै अहिलेको माग अनुसार उत्पादन गर्न नसकेर आयातमा बढी निर्भर हुनु परेको बताउनुभयो । उहाँले पशुपालन गरेर माछा मासुमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारले आफ्नो कार्यकालमा हरेक बर्ष साना किशानहरुलाई न्युनतम ३ प्रतिषत ब्याजदरमा १ लाख देखि १० लाख सम्म अनुदान बितरण गर्न सुरु गरेको उल्लेख गर्नुहुँदै अनुदान र सहुलियत पुर्ण ऋण अझै पनि सम्बन्धित ठाउँमा नपुगेको बताउनुभयो ।
सामुहिक प्रणालीमा खेतीलगायत अन्य काममा पनि सामुहिकताले बढी उपलब्धि हुने उल्लेख गर्नुहुँदै किसानको हितको लागि हालको सरकारले केही गर्न नसकेको बताउनुभयो । अहिलेको गठबन्धन सरकारले भागबण्डा मिलाउन गलत नीति लिएका कारण किसानले सहुलियत पाउन नसकेको उहाँको भनाई थियो । बिगतमा एमाले सरकारले किसानको हितमा लिएको निति यो सरकारले लिन नसकेको भन्दै सरकारसङ्ग लडेर हक अधिकार लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कृषकको हक अधिकारका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा व्यवसायिक कृषि तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायिक बन्न सके थुपै्र अवसरहरु रहेको भन्दै सरकारले समेत यसमा ध्यान दिएको बताउनुभयो । नेपाल व्यवसायिक बाख्रा पालक महासंघ मकवानपुरका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरका व्यवसायिक बाख्रा पलक किशानहरुको सहभागिता थियो ।