मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालले चुनाव लक्ष्ति कार्यक्रमहरु सुरु गरेको छ । पार्टी वडा कमिटीले नियमित माथिल्लो कमिटी संगको छलफल तथा सुझाव संकलन लगायतका चुनाव लक्ष्ति कार्यक्रम सुरु गरेको हो ।
एमालेको गढको रुपमा परिचित ९ नम्बर वडालाई आगामी निर्वाचनमा पुन जित दिलाउने अभियान अन्तरगत वडा कमिटीले अभियानकै रुपमा कार्यक्रम सुरु गरेको छ । अभियान अन्तरगत पार्टी वडा कमिटीले बिहीबार एमाले हेटौंडा नगरकमिटीका सदस्यहरुसंग छलफल तथा परामर्श तथा सल्लाह सुझाव संकलन गरेको छ ।
एमाले हेटौंडा ९ नम्बर वडा कमिटीका अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षता एवम् नेकपा एमाले बागाती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि खुलालले एमालेलाई जित दिलाउन सबैलाई दृढ भएर लाग्न निर्देशन दिनुभयो । उहाँले आसन्न निर्वाचनलाई केन्द्रमा राखेर बितेको ५ वर्षमा भएका विकास निर्माणका कामका बारेमा जनतालाई जानकारी गराउने , प्रभावकारी रुपमा पार्टी परिचालित हुन निर्देशन दिनुभयो । यस अघि प्रदेश र जिल्ला कमिटी संग पनि यस्तै कार्यक्रमको आयोजना गरिसकिएको र कार्यक्रमलाइ निरन्तरता दिइने एमाले ९ नम्बर वडा कमिटीले जनाएको छ ।