बिश्व अधिकारी÷मकवानपुर
ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा हेटौंडामा एकजनाको मृत्यु भएको छ । कान्तिराजपथ स्थित हेटौंडा–चौघडा सडकखण्डअन्तर्गत हेटौंडा–५, क्याम्पाडाँडामा सोमबार साँझ ट्रिपरको ठक्करबाट एकजनाको ज्यान गएको हो । भने, अर्का एकजना गम्भीर घाईते भएका छन् ।
ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार हेटौंडा–६, चौघडाका १८ वर्षीय आशिष शिवभक्तीको घटनास्थलमै ज्यान गएको हो, भने मोटरसाइकलमा सवार हेटौंडा–६, चौघडाका १८ वर्षीय निरज राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना १ क ८३३३ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।
गम्भीर घाइते राईको हेटाैंडामा उपचार सम्भव नभएपछि भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । यसैबिच मोटरसाइकललाई ठक्कर दिने ट्रिपरमा आक्रोशित स्थानीयले आगजनी गरेका छन् । प्रहरीले ट्रिपरका चालक हेटौंडा–१४, मयुरधापका सुवास थपलियालाई नियन्त्रणमा लिएको जनाएको छ ।