हेटौंडा– हेटौँडा औद्योगिक क्षेत्रस्थित दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको आइतबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आज एक कार्यक्रमका बिच शीतभण्डार भवनको शिलान्यास गर्नुभएको हो ।
शितभण्डार भवनको शिलान्यास गर्नुहुँदै मन्त्री लामाले प्रदेशका विभिन्न जिल्लामा धुलो दूधको उत्पादनस्तर गरी अन्तरराष्ट्रिय बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने बनाउने कुरालाई प्राथमिकता दिइएको बताउनुभयो । प्रदेशमा कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको विकास र समृद्धिको लागि कृषिको व्यवसायीकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउँने योजना रहेको उहाँले बताउनुभयो । उहाँले उत्पादक्त्व र उत्पादन बृद्धिका लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको समेत जानकारी दिनुभयो ।
प्रदेश दुग्ध विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा करीब ५७ लाख १२ हजार ४१७ रुपैयाँ लगानीमा शीतभण्डार निर्माण गर्न लागिएको हो । आगामी विसं २०७८ वैशाखको पहिलोदेखि शीतभण्डारलाई सञ्चालनमा ल्याउने बताईएको छ । शीतभण्डारको क्षमता १०० मेट्रिक टनको रहेकोे छ ।