हेटौंडा–आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर २ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार हेटौंडामा क्षेत्र नम्बर २ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरुसहित कार्यकर्ताहरुको भेला भएको हो ।
भेलामा बोल्ने उम्मेदवार तथा दलका नेताहरुले गठबन्धन बाध्यता नभई आवश्यकता भएको भन्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुलाई प्रतिवद्ध भई मतदान गर्न आग्रह गरे । शान्ति प्रक्रियादेखि गणतन्त्र र संघीयता स्थापना गर्ने दलहरुबीचको गठबन्धन भएको भन्दै गठबन्धनभित्रका दलहरुले एकअर्कालाई विश्वास गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गठबन्धन दल नेकपा एकीकृत समाजवादीका तर्फबाट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा, नेकपा माओवादी केन्द्रकातर्फबाट क्षेत्र नम्बर २ क का उम्मेदवार कुमारी मोक्तान, नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका क्षेत्र नम्बर २ ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँसहित तीनै दलका नेता कार्यकर्ताको उपस्थितिमा भेला भएको हो ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सबैले आफ्नो तहबाट भूमिका खेल्न आग्रह गरे ।
गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले आगामी निर्वाचन प्रतिगामी शक्ति र अग्रगामी शक्तिबीचको लडाईं भएको भन्दै अग्रगामी शक्ति लोकतान्त्रिक बाम गठबन्धनको जीत सुनिश्चित भएको बताए । केपी ओेलीले गठबन्धन तोड्न धेरै तिकडम गरेको तर, असफल त्यो असफल भएपछि मनोवैज्ञानिक रुपमा एमाले खस्किसकेको उनले विश्लेषण थियो ।
क्षेत्र नम्बर २ क का प्रदेशसभा सदस्य पदका उम्मेदवार कुमारी मोक्तानले गठबन्धनभित्रका दलहरुले प्रतिवद्ध भएर आफ्ना उम्मेदवार जिताउन लाग्नुपर्ने बताइन् । लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र उपलब्धीलाई दीगो बनाउन गठबन्धनलाई पनि दीगो बनाउनु आवश्यकता रहेको उनको भनाइ थियो । मकवानपुर क्षेत्र नम्बर २ ९ख० का प्रदेशसभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धनको साझा स्वार्थ भनेको गणतन्त्र र संविधानको रक्षा गर्नु भएको भन्दै गठबन्धन लामो समयसम्म टिक्ने दावी गरे । शान्ति प्रकियाको जगमा गठबन्धन भएको भन्दै शान्ति प्रक्रियादेखि गणतन्त्र र संघीयता स्थापना गर्ने दलहरुबीचको गठबन्धनले मात्र मुलुकको दीगो विकास गर्न सक्ने उनको भनाइ थियो ।