मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले धर्म संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका–१२ स्थित सोईनाम पली गुम्बाको सोमबार शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले आफ्नो क्षेत्रमा धर्मसंस्कृतिको विकास गर्दै त्यसको संरक्षण तथा पर्यटन प्रबद्र्धन गर्न सके आर्थिक समृद्धि समेत हासिल गर्न सकिने बताउनुभयो । आफ्नो ठाउँबाट धर्मसंस्कृतिलाई अगाडि बढाउनका लागि सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उहाँको भनाई थियो । प्रमुख खुलालले भुकम्प पुर्नर्निमाण प्राधिकरण मार्फत स्थानीय स्तरमा निर्माण भएका भौतिक संरचनाहरुको संरक्षण चुनौतिपूर्ण रहेको भन्दै मकवानपुरलगायत भुकम्प प्रभावित जिल्लामा विद्यालय, धार्मिक स्थल, सार्वजनीक संस्थालयात पुर्नर्निर्माण भएका संरचनाहरु संरक्षणका लागि समयमै ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय ईकाई (अनुदान व्यवस्थापन) कार्यालयका प्रमुख बिमल किशोर केपीले पुनर्निर्माण प्राधिकरणको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशतको लागानीमा गुम्बा निर्माण हुन लागेको बताउनुभयो । उहाँले जिल्लामा यो वर्ष सम्पन्न गर्नुपर्ने १० वटा, बुहबर्षिय योजनाका २ वटा र केन्द्रियबाट ३ वटा गरि १५ वटा गुम्बा निर्माण हुन लागेको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न हुने गरि काम अगाडी बढाउन समेत आग्रह गर्नुभयो । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार डिम्डुङको सभाध्यक्षतामा भएको कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ललित घलानलगायतको उपस्थिती थियाे ।