मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नुभएका मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरको विदाई गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिसस प्रमुख रघुनाथ खुलालले मायाको चिनो प्रदान गर्दै विदाई गर्नुभएको हो ।

विदाई कार्यक्रममा जिसस प्रमुख खुलालले मकवानपुरको प्रहरी प्रमुखका रुपमा प्राप्त सहयोगका लागि धन्यवाद दिँदै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मकवानपुरमा देखाउनुभएको समन्वय र सहजिकरणलाई अन्य स्थानमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक राठौरले मकवानपुरमा रहेर करीब एक वर्ष काम गर्दा जिल्ला समन्वय समितिबाट सक्दो सहयोग प्राप्त गरेको बताउनुभयो । विशेषगरि जिसस प्रमुखले निर्वाह गर्नुभएको अभिभावकिय दाईत्वको सधैं सम्झना रहने उहाँको भनाई थियो । करीब १३ महिना बसाईमा जिसस प्रमुखबाट अभिभावक्त्व प्राप्त भएको उहाँले बताउनुभयो । मकवानपुर बसाईमा लागुऔषध न्युनिकरण, शान्ति सुरक्षा, कोरोना माहामारी लगायतको काममा जिसस प्रमुख र जिसस परिवारबाट प्राप्त सहयोगको उहाँले प्रसंशा समेत गर्नुभएको थियो । उहाँले आफु जहाँ रहे पनि जिसस र समग्र मकवानपुर बासीको सहयोगलाइ सधै आत्मसाथ गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, शसस्त्र प्रहरी १४ नम्बर गणका शसस्त्र प्रहरी निरकृष्ण अधिकारी र कर्मचारी मिलन केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष बद्री बहादुर पाठकसमेतले प्रहरी उपरिक्षक राठौरलाई मायाको चिनो सहित विदाई गर्नुभएको थियो । राठौरकाे काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी सरूवा भएको छ ।