युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् । म्याच डे वानका खेलहरु सकिएपछि अब बुधबारबाट म्याच डे टु का खेलहरु हुनेछन् । जस अन्तर्गत आज पहिलो खेल समूह बी मा रहेका फिनल्याण्ड र रुसबीच हुनेछ ।फिनल्याण्डले यसै संस्करणमार्फत युरोकपमा डेब्यु गरेको हो ।
पहिलो खेलमा डेनमार्कलाई १–० गोलले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरिसकेको छ । रुस भने पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । फिनल्याण्ड लयलाई निरन्ता दिने योजनामा छ भने रुस पहिलो जितको खोजीमा छ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समय अनुसार साँझ ६स्४५ बजे सुरु हुनेछ । यस्तै राति ९स्४५ बजे हुने खेलमा समूह ए मा रहेका वेल्स र टर्की भिड्दैछन् । टर्की उद्घाटन खेलमा इटलीसँग ३–० ले पराजित भएको थियो भने वेल्सले स्वीट्जरल्याण्ड्सँग १–१ को बराबरी खेलेको थियो । दुवै टिम पहिलो जितको खोजीमा हुनेछ । यो खेल अजरबैजानको बाकुमा हुनेछ । समूह ए मै रहेका इटली र स्वीट्जरल्याण्डबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ । खेल इटलीको घरेलु मैदान रोममा हुनेछ ।