मकवानपुर – नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ता बिना सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बन्द गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले अनुगमन उपसिमितिको प्रतिवेदनको आधारमा जिल्लामा दर्ता नगरि सञ्चालित त्यस्ता उद्योगहरु बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।

अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले त्यस्ता क्रसर तथा बालुवा उद्योगहरु स्थानीय प्रहरी÷प्रशासनको सहयोगमा तत्काल बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो । बैठकले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बिना दर्ता सञ्चलन भएको, राजस्व नबुझाएको र सम्बन्धीत स्थानमा सञ्चालन नभएको भए अनुगमन तथा आवश्यक छानबिन गरी तत्काल बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।

त्यस्तै बैठकले क्रसर तथा बालुवा उद्योगहरुको स्टक प्रमाणित नभए सम्मका लागि ढंगा, गीट्टी बालुवा बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको छ । कतिपय स्थानीय तहमा सञ्चालित क्रसर उद्योगहरु स्टक प्रमाणित गर्न नआएका कारण त्यस्ता उद्योगहरुको हकमा स्टक प्रमाणित नभएसम्म बिक्री वितरणमा रोकलगाउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । यस्तै स्टक प्रमाणित उपसमितलाई स्टक प्रमाणित प्रकृयाका विष्गायमा यथा सक्य छिटो विश्लेषण गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमाँगाई, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, समितिका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौड्याल, डिभिजन वन कार्यालय मनहरीका प्रमुख दिर्घनारायण कोईराला, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, शसस्त्र प्रहरी प्रतिनिधि, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, हेटौंडा, भीमफेदी, मकवानपुरगढी र बकैया गाउँपालिकाका प्राविधिकहरको सहभागिता थियो ।