नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि हुँदैछ । बैठक कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ ।
बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।
बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।
बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिनुभयो । माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।
अस्ति बसेको पदाधिकारी बैठकले भित्र एउटा र बाहिर अर्कै प्रचार हुने गरेकालाई त्यसलाई रोक्न आजदेखि हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । यसअघि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।