भारतीय स्टार क्रिकेटर विराट काेहलीले आफ्नाे ५०० औँ अन्तर्राष्ट्रिय खेलमा शतक बनाएका छन् । काेहलीले झन्डै ५ वर्षपछि घरबाहिर शतक बनाएका हुन् । यसअघि उनले सन् २०१८ मा अस्ट्रेलियाकाे पर्थमा शतक बनाएका थिए ।
वेस्ट इन्डिजसँगकाे दाेस्राे टेस्टमा काेहलीले १ सय ८० बलमा आफ्नाे टेस्ट करियरकाे २९ औँ शतक बनाएका हुन् । उनी ५०० औँ अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलाे खेलाडी हुन् । याेसँगै काेहलीले टेस्ट शतकमा अस्ट्रेलियाका डन ब्राडम्यानसँग बराबरी गरेका छन् ।
काेहलीभन्दा अघि नाै जना खेलाडीले ५०० औँ अन्तर्राष्ट्रिय खेल खेलेका छन् तर कसैले पनि ४८ रनभन्दा धेरै बनाउन सकेका थिएनन् । क्रिकेटकाे तीन वटै फर्म्याटमा गरी काेहलीकाे याे ७६ औँ शतक हाे । उनले एकदिवसीयमा ४६ र टी–२० मा एउटा शतक बनाएका छन् ।