मकवानपुर । हिमालयन शेर्पा क्लब हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा क्यामरुनी टोली एभिनियर एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै शेर्पाले मनाङ मस्याङ्दीसंगकाे भेट पक्का गरेको हो ।
हेटाैंडा–५,स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा हिमालयन शेर्पाको तर्फबाट सुनिल श्रेष्ठले गरेको गोल नै निर्णयक बन्यो । निकै नै प्रतिष्पर्धात्मक खेलमा दोस्रो हाफको नवौं मिनेटमा श्रेष्ठले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच श्रेष्ठ घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।
हिमालयन शेर्पाले अब उपाधीका लागि फागुन १० गते बुधबार मनाङ मस्याङ्दी क्लबसँग खेल्नेछ । यसअघि आइतबार भएको पहिलो सेमीफाइनल खेलमा एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनल प्रवेश गरेको थियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ ।