मकवानपुर– बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।
हेटौँडा–४ स्थित भुटनदेवी माविमा कायम गरिएको तीन वटा केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ । मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको समेत निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा “बादल”, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा डाक्टर खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ । उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ३८ गरी ३ सय ४८ मतदाता कायम रहेको आयोगले जनाएको छ । निर्वाचनको मतगणना आज बेलुकी ५ बजेबाट हुने र नतिजा आजै सार्वजनीक गरिने आयोगले जनाएको छ ।