काठमाडौँ । आसन्न टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने भएको छ । जोर्डनमा हुने भनिएको छनौट प्रतियोगिताका लागि त्यहाँको सरकारले भारत र नेपाललाई रेड लिष्टमा राखेको र आफ्नो देश भन्दा बाहिर १४ दिनको क्वारेन्टाइन बसेर मात्र जोर्डन प्रवेश गर्न पाउने नियम बनाएपछि नेपालले छनौटमा सहभागिता जनाउन नपाउने भएको हो ।
मे २१ र २२ मा हुने प्रतियोगिता आउने मुखैमा जोर्डन सरकारले नेपाल र भारतबाट आउने खेलाडीलाई दुई साता अर्को देशमा क्वारेन्टाइन बसेर आउनुपर्ने नियम बनाएको हो । विश्व तेक्वान्दो महासङ्घले करिब दुई साता अगाडि नै यसको पत्राचार गरेको थियो । छनौट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने तेक्वान्दो एक्लो खेल हो । अब छनौट चरण खेल्न नपाउने भएपछि तेक्वान्दोलाई वाइल्ड कार्डकै भर रहेको छ । टोकियो ओलम्पिकका लागि पौडी र एथ्लेटिक्सले खेल्ने पक्का भएपछि बाँकी सात खेलका खेलाडी वाइल्ड कार्डको भरमा छन् ।
यस पटक ओलम्पिकका लागि वाइल्ड कार्ड पाउने सम्भावना निकै न्यून देखिएको छ । नेपालले वाइल्ड कार्डका लागि पठाएका खेलको सूचीमा पनि अरू एक दुई खेलमा मात्र नेपाल ओलम्पिक कमिटीले आशा गरेको महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो । ओलम्पिक छनौट खेल्न नपाउँदा बरीयतामा पनि अङ्क जोड्न कठिन भएकाले पनि यो सम्भावना कम भएको बताइएको छ ।