राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाण्डौमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताउनुभएको हो ।
उहाँले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताउनुभयो । उहाँले आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताउनुभयो । कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उहाँको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । उहाँले पार्टीलाई नै सही मार्गमा हिडाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा स्वतन्त्र आउनैपर्छ । कतिपय आउनुहुन्छ स्वभाविक हो । तर पार्टी, सरकार बनेर चलाउने त स्वतन्त्रले त सम्भव नै छैन । एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ । त्यसकारण आवद्ध हुनुस् पार्टीमा ।’